पोखराबाट अवैध रूपमा गोरु चोरी , ट्रक चालक २२ वटा गोरु सहित प्रहरीको नियन्त्रणमा

राज शर्मा , पोखरा पोखराबाट अवैध रूपमा गोरु चोरी निकासी गर्ने ट्रकलाई २२ वटा गोरु सहित कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पट्नेरीबाट तालचोक तर्फ आउँदै गरेको बा प्र ०३००१ ख् २१५९ नं. ट्रकलाई बिहान ३ बजे इलाका प्रहरी कार्यालय हंसपुरले नियन्त्रणमा लिएको हो ।

सादा पोसाकमा रहेका प्रहरीहरूले सोधपुँच गर्दा ट्रकमा अवैध रूपमा लोड गरिएका २२ वटा गोरु लिएर जिल्ला बाहिर जाने क्रममा रहेका मकवानपुर गढी गाउँपालिका वडा नं.६ का चालक सुवास पाख्रिनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ती गोरुहरूलाई महानगरीय प्रहरी बलको जिम्मा लगाई महानगरपालिकाद्धारा व्यवस्थापन गरिएको पोखरा १४ स्थित पुष्करिणी परोपकार गोकुल धाममा पठाइएको प्रहरीले जनाएको छ । पछि सोधी खोजी गर्दा ती गोरुहरू अवैध रूपमा पोखरा २९ का विभिन्न गाई फार्म र कृषकहरूको घरबाट सङ्कलन गरिएको पाइएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

ती गोरुहरूलाई गोकुल धाममा आश्रय दिइएको गौशाला व्यवस्थापनले जनाएको छ ।

Leave a Comment