पोखरा महनगरपालिका द्वारा पहिलो पटक स्थानीय तहमा कृषि एम्बुलेन्स संचालन

राज शर्मा , पोखरा |

पोखरा महानगरपालिकाले स्थानीय तहमा पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालन गरी कृषक र उपभोक्ताहरू दुवैको हितमा काम गरिरहेको छ । महानगरको ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूलजन्य उत्पादनहरूलाई गाउँमा नै सङ्कलन गरी कृषि एम्बुलेन्स मार्फत बजार क्षेत्रमा बस्ने उपभोक्ताहरूको घरदैलोसम्म पुर्‍याउने काम गरिरहेको छ ।

दैनिक जसो महानगरको विभिन्न वडाहरूमा गई कृषि एम्बुलेन्सले कृषिजन्य उत्पादनहरू सङ्कलन गरी ल्याउने गरेको महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार नियमित तालिका नै बनाएर एम्बुलेन्स महानगरका विभिन्न वडाहरूमा जाने र वडा स्तरमा निर्माण गरिएका सङ्कलन केन्द्रहरूमा सङ्कलन गरिएको ताजा तरकारी र फलफूलहरू बजार क्षेत्रमा रहेका महानगरद्वारा सञ्चालित सुपथ मुल्यका कृषि बजार र बिक्री केन्द्रहरूमा ल्याउने गरिन्छ ।

महानगरपालिकाले बजार क्षेत्रमा १५ भन्दा बढी स्थानमा सुपथमुल्यका कृषि बजारहरू र वडा स्तरमा बिक्री केन्द्रहरू सञ्चालन गरेको छ । यसैबिच प्रत्येक साताको शुक्रवार पोखरा महानगरपालिका वडा नं.४ परिसरमा कृषि एम्बुलेन्स मार्फत ताजा तरकारी विक्री वितरण गर्ने गरिएको छ । यसले वडावासीहरूलाई ताजा तरकारी उपलब्ध हुनुका साथै विषादी रहित उत्पादन उपभोग गर्ने मौका मिलेको वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनुभयो ।

Leave a Comment