सर्वेश्वर मार्गका व्यवसाय अबदेखि शनिबार पनि खुल्ने

पोखरा, चैत ९ ।

पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ।

शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक तथा खुद्रा सामानहरु खरिद गर्न आउने ग्राहकहरु मरमा परेकाले उनीहरुलाई सहज बनाउनपनि शनिबार व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । व्यवसाय खुल्ला गर्ने निर्णय गरिएपनि बाध्यकारी नभएको उनको भनाई छ । हाम्रो आग्रह खोल्नूस् भन्ने हो,उनले भने,‘यो स्वेच्छिक हो । यदि कसैले खोल्दिन भन्छ भने त्यो उसको अधिकार हो, नखोल्न सक्नुहुन्छ ।’

यसैबीच, समितिले नया वर्ष २०८० को अवसरमा क्यालेन्डर प्रकाशन गर्ने भएको छ । समितिले व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यले समितिको वार्षिक कार्यतालिकालाईसमेत समेटेर क्यालेन्डर प्रकाशन गर्न लागेको समितिका बरिष्ठ उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन उपसमिति संयोजक छवीलाल गौतमले जानकारी दिए । क्यालेन्डर बजारमा आएपछि सो क्यालेन्डर लिएर समिति छिमेकी जिल्लाहरुमा पुगेर बजार प्रवद्र्धन गर्ने उनले बताए । क्यालेन्डर बजार प्रवद्र्धन गर्नका लागि कोशेढुंगा सावित हुनेछ,उनले भने,‘आक्रामक मार्केटिङमार्फत सर्वेश्वर मार्गलाई हामी व्यापारको हब र ब्राण्ड बनाउनेछौं ।’

Leave a Comment