हिउँद होस या बर्खा सदाबहार , मनै लोभ्याउने ‘गाजा दह’

राज शर्मा , जैमिनी । तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ ? त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला। प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो

अग्लो पहाड , पहाडको बीचमा दह, मन्दिर र घरहरु। शान्त वातावरण र स्वच्छ हावापानी। योे गाजाको दहको पहिचान हो। हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन्। बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा पर्ने गाजाको दह निकै चर्चित भए पनि अझै आझेलमा छ।

यो सदरमुकामदेखि नजिकै छ । गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन। पर्यावरण र संस्कृति पनि त्यहाँका चिनारी हुन्। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्छ, गाजा दह । कहिले हिउँ फूल्छ गाजामा, कहिले लालीगुराँस । प्रकृतिले दिएका देनमध्यको एउटा हो, गाजा दह । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ। एकपटक घुमेर धित मर्दैन । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार-पाँच घण्टाको यात्रा तय गरे पुग्छ । ‍पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् । ग्रामीण जनजीवन नियाल्दै पदयात्रा गाजातिर सोझिन्छ । गाजा पुग्दा नपुग्दै प्रकृति घडा लिएर मानिसको स्वागतमा उभिए झैँ लाग्छ ।

वनको माझ दह, माथिपट्टि गाउँ । दहछेउ देखिने सेताम्मे हिमाल । बाह्रैमास चल्ने चिसो सिरेठो । उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिगार्न नदिन संरक्षण गरिएको छ । हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यापान गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ।

Leave a Comment