४८ वर्षदेखि ठेकी बनाउने पेसा धानेका अमलाचौरका टीकाबहादुर

बागलुङ-शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा । हातमा काठ र फलामका दुई थान औचार । काठेखोलाको तंग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिनुभयो बागलुङ नगरपालिका–१२ अमलाचौरका टीका बहादुर चुनारा । घर्कदोँ उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ टीका बहादुरमा । उमेरले ६० लाग्नु भएका चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त हुनुहुन्छ । बागलुङमा मात्र होइन अन्य जिल्लाका दूर दराजसम्म पुगेर ठेकी बनाउने उहाँको मुख्य पेसा हो । कामलाई पूजा मान्ने टीका बहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो । बाउ, बाजे र काकाहरुबाट १२ वर्षकै उमेरदेखि सिप सिकेर ठेकी बनाउने पेसा अङ्गाल्नु भएको थियो उहाँले ।

हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन् । तर पनि टीका बहादुरले ठेकी बनाउने मात्रै होइन यसको प्रयोगका बारेमा पनि नागरिकलाई सचेत बनाउने गर्नुहुन्छ । दशक अगाडि काठमा सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेका छन् । आधुनिक प्रबिधिको विकासले मौलिकता हराउँदै छ । जसले परम्परागत पेसा पनि संकटमा पर्दा छ । विहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीको विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयाति भाँडाकुँडालाई प्राथमिकता दिँदा चिन्तित हुनुहुन्छ । आयाति धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नु पर्ने उहाँ सुझाउनुहुन्छ । तर उहाँको सुझाव कसले सुन्ने ?

तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामा लगायतका धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको स्मरण गर्नु भयो । तर पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री विक्रीसमेत कम हुँदै गएको उहाँ बताउनुहुन्छ । गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडाभन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यस तर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ । समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मान्छेहरु गाउँमा नबस्ने, गाई भैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उहाँले बताउनुभयो ।

चुनाराले भन्नुभयो – “हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो, अहिले त मान्छेहरु गाउँमा बस्न छोडे, गाईभैँसी पनि पाल्दैनन्, पहुनै नपाल्ने भएपछि ठेकीको काम पनि भएन, उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, तर अहिले त्यही प्रयोग गर्छन्, सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे, तर अहिले सबैले त्यही प्रयोग गर्छन्, काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानु पर्छ भन्थे तर त्यो सबै हरायो ।”

पहिले आफ्नो गाउँमा ३०/४० जना मान्छेले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले नसक्दिा चार जना मात्रै रहेको उहाँले बताउनुभयो । यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको चुनाराले गुनासो पोख्नु भयो । गाउँपालिका/नगरपालिकाले आरन गर्नेलाई, बाख्रा पाल्नेलाई अनुदान दिने र पेसाका लागि प्रोहोत्सान गरे पनि ठेकी बनाउने सिप भएका र वर्षौँदेखि पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उहाँको भनाइ छ । ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आए पनि अब यही पेसाबाट जीवन धान्न गाह्रो भएको उहाँको भनाइ छ ।

चुनाराले अहिले पनि अँधियामा ठेकी बनाउन गाउँ–गाउँ पुग्नुहुन्छ । अँधिया प्रथा अहिले पनि कायम रहँदै आएको हुँदा यसलाई निरन्तरता दिएको चुनारले बताउनुभयो । ४८ वर्षसम्म एउटै पेसा अङ्गालेर छोराहरुको लालनपालन र पढाईलेखाईसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गर्ने चुनाराको भनाइ छ । आफूले अहिलेसम्म कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भएको सुनाउनुभयो ।

“मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उतिबेला बा, दाईहरुसँग हिँडियो, उनीहरुबाटै सिकियो, १७ वर्षदेखि आफै कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम भयो, ठेकी किन्नेहरुले अहिले प्लास्किट, सिल्टीका भाँडा ल्याउन थाले” चुनाराले भन्नुभयो – “मेरो हातपाखुरा चल्दासम्म यो पेसा धान्ने छु, मेरा छोराहरुले यो धानेनन्, अलिअलि पढेलेखे यो काम गर्दैनन्, राज्यले अरु पेसा गर्नेलाई हौसला दिन्छ, तर हामीहरु जस्तो ठेका बनाउनेलाई कुनै पनि निकायले सहयोग गरेको छैन, हाम्रो तरिकाले काम गर्दै आएका छौँ ।”

सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रबिधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको बताउनुभयो । ठेकीलाई एक मानाको १२ सय रुपैयाँ पर्ने उहाँले सुनाउनुभयो । एउटा ठेकीलाई सामान्यतया ८०० देखि १० हजार रुपैयाँसम्म पर्ने उहाँको भनाइ छ । ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले सुनाउनुभयो ।

आदर्श संचारबाट

Leave a Comment