पैयुँपाटामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत र सम्मान कार्यक्रम

चुडामणी शर्मा/बागलुङ: बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।विद्यालयमा आयोजना गरिएको कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्का रहनुभएको थियो । कार्यक्रमका दौरान विद्यार्थीले बजाएको पञ्चे बाजा र गाएको भजनमा रम्नुभएका उहाँले विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।विशिष्ट अतिथि नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेल र वडाध्यक्ष नारायण शर्मा पौडेल रहनुभएको थियो ।

कार्यक्रममा नगर शिक्षा समिति सदस्य चन्द्रबहादुर केसी, विद्यालयका प्रमुख सल्लाहकार, विशिष्ट सल्लाहकार, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरु, शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागीता रहेको थियो । वडाध्यक्ष नारायण शर्मा पौडेलले विद्यार्थीहरूमा अनुशासन भएमात्र विद्यार्थीहरूको उन्नति हुने बताउनुभयो ।नगर शिक्षा शाखाका प्रमुख पोख्रेलले विद्यालयले गरीखाने सीप र सीपमूलक शिक्षा प्रदान गरेको देख्दा आफूलाई असाध्यै खुसी लागेको उल्लेख गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक तिलक आचार्यले स्वागत मन्तब्य राख्दै विद्यालयप्रति अभिभावकहरूको आकर्षण तीव्र रुपमा बढेकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयले गरेका असल अभ्यासको बारेमा पनि उहाँले प्रस्ट पार्नुभयो । कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद शर्माले गर्नुभएको थियो ।

Leave a Comment