देउपुरमा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा मोदी गाउँपालिकाको देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा ‘ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यालय प्रमुख टंकप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्ष २०८०÷२०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार हिजो र आज गरेर दुई दिनका लागि आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयका ३० जना विद्यार्थीहरु सहित शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पहिलो दिन हिजो सहभागीहरुको अनुभव आदानप्रदान सहित लोप हुँदै गएका परम्परागत सीप तथा व्यवसायहरु, जगेर्ना गर्नुपर्ने परम्परागत सीप, तिनको व्यवसायिकता र आधुनिकीकरणको बारेमा सहजीकरण गरिएको थियो ।

यस्तै नेपाली परम्परा, रितिरिवाज र तिनका बैज्ञानिक तथ्य, आफ्ना सन्तानहरुलाई अभिभावकहरुले सिकाउनुपर्ने नेपाली संस्कृति र तिनको बैज्ञानिक महत्व, अभिभावकले नसिकाएकै कारण हराउँदै गएको तर जान्नैपर्ने र गर्नैपर्ने संस्कार र आचरणको बारेमा सहभागीहरुलाई सिकाइएको छ । कार्यक्रममा आयोजक सामाजिक विकास कार्यालयका प्रमुख टंकप्रसाद ढकाल र प्रशिक्षक भवानीप्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै देउपुरका निवर्तमान वडाध्यक्ष विकास तिमिल्सिनाले मौरी पालन गरेर हावाबाट, माछा पालेर पानीबाट र अन्न लगाएर माटोबाट सुन फलाउन सकिने उदाहरण विद्यार्थीहरुलाई दिनुभयो ।

कार्यालयप्रमुख ढकालले ज्येष्ठ नागरिकको सन्देसबाट अनिकालमा बुटी जोगाउन सकिने उदाहरण दिँदै पुर्खाहरुले देखाउने साहितदेखि बास्तुशास्त्रसम्मका कुराहरु कसैले पनि बिर्सिन नहुन बताउनुभयो । पुरानो पुस्ताको ज्ञान, सीप र शैली अहिलेको नयाँ पुस्तामा नसर्दा नयाँ पुस्ता मौकिलक पराम्पारबिहीन अवस्थातर्फ गइरहेको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन कार्यालयका कर्मचारी जगत नेपालीले गर्नुभएको थियो । कार्यालयका अधिकृत बालकृष्ण घिमिरेको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक शर्माले स्वागत गर्नुभएको थियो । कार्यालय प्रमुख ढकालकै अध्यक्षतामा समापन कार्यक्रम सञ्चालन भएको थियो ।

Leave a Comment